कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक १४)

मौसमी सारांश:

  • गत साताभर मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश केन्द्रहरूमा तथा कोशी प्रदेश र गण्डकी प्रदेशका धेरै केन्द्रहरूमा १००.0 मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। साताको मध्यमा गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै केन्द्रहरूमा धेरै भारी वर्षा मापन भएको छ। देशभरका वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। सबैभन्दा बढी बागमती प्रदेशको चितवन जिल्लाको भरतपुर केन्द्रमा ४१३.३ मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदरभन्दा बढी अधिकतम तापक्रम र अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ।
  • आगामी साता देशभर नै मनसुनी वायुको प्रभाव रहने छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा सरदर स्थानभन्दा माथि रहने छ र पूर्वी भू-भागमा साताको मध्यबाट सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक सर्ने छ।
  • हिमाली भू-भागः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरू र मध्यमा धेरै स्थानमा र अन्त्यमा केही स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ। साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरू र अन्त्यमा थोरै स्थानमा भारी वर्षा र मध्यमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र अन्त्यमा केही स्थानमा र मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
  • तराई भू-भागः साताको सुरू र अन्यमा केही स्थानमा र मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षा र मध्यमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश र सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी साता देशभर अधिकतम र न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।

कृषि सारांश

 

  • भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकैबाली, तरकारी तथा फलफूल बगैँचालगायत प्लास्टिक घर, पशुपन्छीका खोर-गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्।
  • २१-२५ दिन भैसकेको धानको बेर्ना प्रतिरोपो २-३ वटाको दरले रोप्न सुरू गर्नुहोस्। हारदेखि हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचीकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हारदेखि हार २० सेन्टिमिटर र रोपोदेखि रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
  • सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा विषादी राख्नैपर्ने भएमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस्। वर्षातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुहोस्।
  • सुन्तलाजात तथा वर्षे फलफूलका गुणस्तरीय विरुवा तयार गरिएका खाडलमा रोप्नुहोस्। बिरुवा रोप्दा जमिनबाट १ फिट उँचो बनाइ, ग्राफ्टिङ गर्दा जोडिएको भाग माटोले नपुरिने गरी सार्नुहोस्।
  • आँपको रुटस्टक तयारी अवस्थामा छ भने इपिकोटायल ग्राफ्टिङ्ग सुरु गर्नुहोस्।
  • मध्यपहाडी जिल्लाहरूमा सिमी र बोडीको बीउ उत्पादनका लागि सिफारिस गरिएका जातका बीउहरू मौसमको अवस्था हेरी रोप्न सुरू गर्नुहोस्।
  • मध्यपहाडी जिल्लाहरूमा काउलीको सिल्भर कप ६०, ह्वाइट टप, सुपर ह्वाइट टप, तराई र तराई लगायतका अगौटे जातहरूको नर्सरी राख्नुहोस्।
  • सेटबाट बेमौसमी प्याज उत्पादन गर्न २ सेमी व्यास भएको प्याजको सेट एक लाइनदेखि अर्को लाइनको दूरी १५ सेमी र एक बोटदेखि अर्को बोटको दूरी १५ सेमी हुनेगरी रोप्नुहोस्।
  • खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग लाग्नबाट बचाउनका लागि पानी निकासको उचित प्रवन्ध गर्नुहोस्, रोगी बोटहरू हटाउनुहोस्। प्रकोप भएमा कपरयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाइ ७-१० फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरी ड्रेन्चिङ गर्नुहोस्।
  • फागुन-चैतमा लगाइएको अदुवा बालीको गानो (बुढी) निकाल्नुहोस्। 
  • वर्षातको समयमा मौरी घारमा खाना (मह पराग) , छैन नियमित अनुगमन गर्नुहोस्। यो समयमा मौरीलाई चरन कम हुने भएकोले चिनी चास्नी बनाएर खुवाउनुहोस्। साथै कमिलाको नोक्सानीबाट जोगाउन घार राखेको स्ट्यान्डको सबै खुट्टाहरूमा कचौरा/प्लास्टिकको बट्टामा पानी राख्नुहोस्।
  • भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मुत्रबाट मानिसमा सर्ने लेप्टोस्पाइरोसिस (Leptospirosis) नामक जुनोटिक रोगको प्रकोप बढी हुने भएकाले धान/खेतबारीमा बुट लगाएर मात्र जानुहोस्।
  • वर्षातको समयमा खोर र गोठ वरिपरि पानी जम्ने, झाडी बढ्ने र दुलोहरूमा पानी भरिने हुनाले सर्पहरू सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सम्भावना निकै उच्च हुन्छ। यस्तो बेला पशुचौपायालाई सर्पदंशबाट जोगाउन गोठको बाहिरी भागमा वा कुनाकाप्चामा कार्वोलिक एसिड (Carbolic Acid) वा कडा गन्ध आउने फिनाइल छर्कनुहोस्। साथै गोठको वरपर बाबरी (Mint), कागती, वा मरिचजस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुहोस्।
  • शंखेकीराको प्रकोप भएको, पानी जमेको ठाउँमा अथवा सिमसार क्षेत्रमा पशुचौपायालाई चराउन लैजानु हुँदैन। ती ठाउँका घाँसपात पशुचौपायाले खाँदा नाम्ले रोग लाग्न सक्दछ। तसर्थ पशुचौपायालाई घाँस खुवाउनुअघि घाममा ओइलाएर मात्र खुवाउनुहोस्।
  • भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूका माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। साथै, माछा बगेर जान नदिन निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाउनुहोस्।
  • मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि बजेसम्म फोन गर्नुहोस्।