कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक ०७)
- गत साता नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। गत साता धेरै केन्द्रहरूमा सरदरभन्दा बढी अधिकतम तापक्रम मापन भएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई केन्द्रहरूमा ४०.० डि.सेभन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। पूर्वी तराईका भूभागभन्दा पश्चिमी तराईका भूभागमा बढी अधिकतम तापक्रम मापन भएको छ। त्यसैगरी देशका केही केन्द्रहरूमा न्यूनतम तापक्रम सरदरभन्दा बढी मापन भएको छ।
- साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै नेपालको दक्षिणतिर रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहने देखिन्छ।
- हिमाली भू-भागः साताभर कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा केही स्थानहरूमा साथै अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ,हावाहुरीसहित मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ।
- पहाडी भू-भागः साताभर कोशी प्रदेशको धेरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा केही स्थानहरूमा साथै अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरूमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षासमेतको सम्भावना छ।
- तराई भू-भागः कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, बाँकी प्रदेशमा साताको सुरू र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
- विशेषगरी साताको सुरू र मध्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम केही घट्ने, अन्त्यमा हल्का बढ्ने तथा बाँकी प्रदेशमा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
- सरदरसँग तुलना गर्दा: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा केही बढी नै रहने तथा वर्षा सरदरभन्दा कम रहने सम्भावना छ।
मनसुन ऋतु (१८ जेठ – १४ असोज) २०८३ को जलवायु आकलन
-
जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना छ।
कृषि सारांश
- चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमित अनुगमन गर्नुहोस्। नोक्सानी कम गर्न खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक बासस्थल नष्ट गर्नुहोस्। बढी नाइट्रोजन मल प्रयोग नगर्नुहोस्। माकुराजस्ता मित्र जीवहरूको संरक्षण गर्नुहोस्। नोक्सानी बढी भएमा साइपरमेथ्रीन १० % ईसी १ एमएल प्रतिलिटर पानीको दरले मौसमको अवस्था हेरी छर्कनुहोस्।
- आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेकाले धानखेती गर्दा कम पानी भए पनि राम्रो उत्पादन दिनसक्ने र खडेरी सहनसक्ने जातहरू जस्तै; सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, सुख्खा धान-४, सुख्खा धान-५ र सुख्खा धान-६ आदि छनौट गर्नुहोस्।
- सिँचाइको सुविधा भएका क्षेत्रमा जलवायुमैत्री सुख्खा छरुवा धान खेती (Dry DSR) प्रविधि अपनाउनुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउलाई छानी कार्बेन्डाजिमयुक्त विषादी ३.० ग्राम प्रतिकेजी बीउको दरले उपचार गरेर मात्र ब्याड राख्नुहोस्।
- यस प्रि-मनसुन अवधिमा हालसम्म अधिकांश ठाँउमा सरदरभन्दा बढी पानी परेकाले भण्डारण गरी राखिएका तथा भण्डारण गर्न लागिएको अन्न बाली, दाल बाली इत्यादीमा चिस्यानको नियमित अनुगमन गर्नुहोस्।
- हरियो मल लगाउने उपयुक्त समय भएकाले धानबालीमा आवश्यक पर्ने खाद्यतत्व परिपूर्तिको लागि ढैँचा, सनइ, मुंग आदी लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ।
- सुन्तलाजात तथा बर्खे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्।
- काँक्रो, फर्सी समूहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि रोगी विरुवाको ठुटाहरू र झरेका पात जम्मा पारी नष्ट गर्नुहोस्।यसका साथै सल्फरयुक्त विषादी ०.२% को घोलले सम्पूर्ण पात भिज्नेगरी ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- प्रि-मनसुनमा दिउँसो र साँझको समयमा हावाहुरी र चट्याङबाट पशुचौपायालाई जोगाउन मध्याह्नपछि जंगलमा चराउन नलैजानुहोस् वा गोठ बाहिर नराख्नुहोस्। मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा पशुचौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
- गर्मी मौसममा पशुचौपायाहरूलाई दिउँसोको समयमा पिउनको लागि चिसो र सफा पानीमा सख्खर वा भेली घोली प्रशस्त मात्रामा खुवाउनुहोस्। पशुचौपायाहरूलाई रूखको छहारी भएका स्थानहरूमा चराउनुहोस्। सम्भव भएसम्म मध्यदिनमा पशुचौपायाहरूलाई नचराउनुहोस। गोठ वा रूखको छहारी भएको स्थानमा बाँध्नुहोस्। गर्मी ठाउँका पशुचौपायाको गोठमा पंखा, स्प्रीङ्कलर, फोगर वा अन्य यस्तै शीतल गराउने उपकरण प्रयोग गर्नुहोस। साथै सन्तुलित दानासँगै हरियो घाँसको मात्रा बढाउनुहोस्। दानामा ५ ग्राम नुन र ५० ग्राम खनिज मिश्रण मिसाएर खुवाउनुहोस्। दिउँसोको तापक्रम ३० डिग्रीभन्दा बढी भएमा, १० लिटरभन्दा धेरै दूध दिने उन्नत जातका गाइभैंसीलाई दिउँसोको समयमा चिसो पानीले नुहाइदिनुहोस् र हावा लाग्ने स्थानमा बाँध्नुहोस्।
- हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
- गर्मीको समयमा माछालाई तापीय आघातबाट बचाउन माछापोखरीमा पानीको गहिराइ कम्तीमा १.५ मिटर कायम राख्नुहोस्।
- तापक्रम र सापेक्षिक आर्द्रतामा हुने घटबढले कार्प जातका माछामा इयुएस संक्रमण देखिएमा सिफालेक्सिन ८० एमजी प्रतिकेजी माछाको दरले दानामा मिसाइ १५ दिनसम्म नियमित खुवाउनुहोस्। साथै प्रतिकठ्ठा जलाशयको उपचारका लागि कोर्सोलिन टिएच ३० एमएल र चुना १५ केजीका दरले प्रकोप हेरी एक हप्ताको अन्तरालमा बढीमा तीनपटकसम्म प्रयोग गर्नुहोस्।
- सेटेरिया, गिनी, सिग्नल जस्ता वर्षेघाँसका लागि नर्सरी बेडको तयारी गरी बीउ लगाउनुहोस्।
- उच्च पहाडी क्षेत्रमा नयाँ घाँस तयार नभएसम्म डाले घाँस र बाँसका प्रजातिहरू खुवाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।
