कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक ०६)
- गत साता नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले देशका धेरै केन्द्रहरूमा वर्षा मापन भएको छ। साताको अन्त्यमा थोरै केन्द्रहरूमा भारी वर्षा समेत मापन भएको छ। देशको पश्चिमी भू-भागभन्दा पूर्वी भू-भागमा बढी वर्षा मापन भएको र थोरै केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। गत साता वर्षा र बदलीका कारण केही केन्द्रहरूमा सरदरभन्दा बढी अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा न्यूनतम तापक्रम सरदरभन्दा कम मापन भएको छ।
- साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै नेपालको दक्षिणतिर रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहने देखिन्छ।
- हिमाली भू-भागः साताभर कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ।
- पहाडी भू-भागः साताभर कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताभर, वागमती र गण्डकी प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
- तराई भू-भागः कोशी प्रदेशमा साताभर केही स्थानहरूमा; मधेश, बागमती र गण्डकी प्रदेशमा सातभर थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन/चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताभर, गण्डकी प्रदेशमा साताको सुरू र मध्यमा तथा वागमती प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
- विशेषगरी साताको सुरू र मध्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम केही बढ्ने तथा ती भू-भागहरूमा तातो दिन वा तातो हावाको लहरको सम्भावना छ।
- सरदरसँग तुलना गर्दा: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा केही बढी नै रहने तथा वर्षा सरदरभन्दा कम रहने सम्भावना छ।
मनसुन ऋतु (१८ जेठ – १४ असोज) २०८३ को जलवायु आकलन
- जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना छ।
कृषि सारांश
- आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेकाले धानखेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिनसक्ने र खडेरी सहनसक्ने जातहरू जस्तै; सुख्खा-१, सुख्खा-२, सुख्खा-३, सुख्खा-४, सुख्खा-५ र सुख्खा-६ आदि छनौट गर्नुहोस्।
- वर्षाको अनियमिततालाई ध्यान दिँदै आकाशे पानी संकलन (Rainwater Harvesting) गर्ने र पोखरीहरूमा पानी जम्मा गर्नुहोस्।
- जलवायुमैत्री संरक्षित कृषि प्रविधिहरू जस्तै; सुख्खा तथा हिले छरुवा धान खेती (Wet and Dry DSR), पालैपालो भिजाउने र सुकाउने (AWD), सघन धान खेती (SRI) प्रविधिहरू अपनाउनुहोस्।
- माटोको चिस्यान संरक्षण गर्न उपलब्ध भए अनुसारको छापो/मल्चिङ प्रयोग गर्नुहोस्।
- सवै प्रकारका बाली लगाउनुपूर्व जमीन तयारी गर्दा नै राम्रोसँग जमिन सम्याउने तथा पानी निकासको उचित व्यवस्था गर्नुहोस्।
- गत साता सरदरभन्दा बढी वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मकै, मुंग लगायत तरकारी तथा फलफूल बालीहरूमा पानी निकासको व्यवस्था गर्नुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउलाई छानी कार्बेन्डाजिमयुक्त विषादी ३.० ग्राम प्रतिकेजी बीउको दरले उपचार गरेर मात्र ब्याड राख्नुहोस्।
- यस प्रि-मनसुन अवधिमा हालसम्म अधिकांश ठाँउमा सरदरभन्दा बढी पानी परेकाले भण्डारण गरी राखिएका तथा भण्डारण गर्न लागिएको अन्न बाली, दाल बाली इत्यादीमा चिस्यानको नियमित अनुगमन गर्नुहोस्।
- तापक्रम बढेसँगै देशका विभिन्न क्षेत्रहरूमा मकैबालीमा फौजी कीराको नोक्सानी देखिएकोले नियमित अनुगमन गर्नुहोस्। नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोएट ५% एसजी, १ ग्राम प्रति ३ लिटर पानी वा स्पिनोस्याड ४५% एससी, १ एमएल प्रति ३ लिटर पानीको दरले बोट भिज्नेगरी ७ दिनको फरकमा २-३ पटक छर्नुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्नुहोस् तथा घोगा लागिसकेपछि विषादी नहाल्नुहोस्।
- हरियो मल लगाउने उपयुक्त समय भएकाले धानबालीमा आवश्यक पर्ने खाद्यतत्व परिपूर्तिको लागि ढैँचा, सनइ, मुंग आदी लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ।
- बर्खे फलफूलको बगैंचा स्थापनाको लागि जग्गा छनोट गरी खाडल तयार गरी गुणस्तरीय विरुवाको स्रोत सुनिश्चित गर्नुहोस्।
- मध्याह्नपछि हावाहुरी, चट्याङ तथा असिना पर्ने सिजन भएकाले टिपेर बजार लैजानुपर्ने फलफूल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्नुहोस्। आलुको पुतली (जोताहा कीरा) ले सामान्यतया भण्डारणमा असर गर्ने भए तापनि आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनुहोस्।
- काँक्रो, फर्सी समूहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि सल्फरयुक्त विषादी १.५ एमएल प्रतिलिटर पानीमा मिसाइ सम्पूर्ण पात भिज्नेगरी ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- जुटबालीमा झारपात नियन्त्रणको लागि प्रोपाक्विजाफोप १०% इसी ५ एमएल प्रतिलिटर र इथोक्सिसल्फ्युरोन १५% डब्लुडिजि १ एमएल प्रतिलिटर पानीको दरले मिसाइ बाली लगाएको २०-३० दिनभित्र मौसमको अवस्था हेरी छर्कनुहोस्।
- प्रि-मनसुनमा दिउँसो र साँझको समयमा हावाहुरी र चट्याङ्गबाट पशुचौपायालाई जोगाउन मध्याह्नपछि जंगलमा चराउन नलैजानुहोस् वा गोठ बाहिर नराख्नुहोस्। मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा पशुचौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
- गर्मी मौसममा पशुचौपायाहरूलाई दिउँसोको समयमा पिउनको लागि चिसो र सफा पानीमा सख्खर वा भेली घोली प्रशस्त मात्रामा खुवाउनुहोस्। पशुचौपायाहरूलाई रूखको छहारी भएका स्थानहरूमा चराउनुहोस्। सम्भव भएसम्म मध्यदिनमा पशुचौपायाहरूलाई नचराउनुहोस। गोठ वा रूखको छहारी भएको स्थानमा बाँध्नुहोस्। गर्मी ठाउँका पशुचौपायाको गोठमा पंखा, स्प्रीङ्कलर, फोगर वा अन्य यस्तै शीतल गराउने उपकरण प्रयोग गर्नुहोस। साथै सन्तुलित दानासँगै हरियो घाँसको मात्रा बढाउनुहोस्। दानामा ५ ग्राम नुन र ५० ग्राम खनिज मिश्रण मिसाएर खुवाउनुहोस्। दिउँसोको तापक्रम ३० डिग्रीभन्दा बढी भएमा, १० लिटरभन्दा धेरै दूध दिने उन्नत जातका गाइभैंसीलाई दिउँसोको समयमा चिसो पानीले नुहाइदिनुहोस् र हावा लाग्ने स्थानमा बाँध्नुहोस्।
- हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
- गर्मीको समयमा माछालाई तापीय आघातबाट बचाउन माछापोखरीमा पानीको गहिराइ कम्तीमा १.५ मिटर कायम राख्नुहोस्।
- माछाका भुरा ढुवानीमा प्लास्टिक भित्रको पानीको तापक्रम बढ्न नदिन जुटको बोरा भिजाएर छोप्नुहोस्। सकेसम्म बिहान वा साँझपख माछाका भुरा ढुवानी गर्नुहोस्।
- सेटेरिया, गिनी, सिग्नल जस्ता वर्षेघाँसका लागि नर्सरी बेडको तयारी गरी बीउ लगाउनुहोस्।
- उच्च पहाडी क्षेत्रमा नयाँ घाँस तयार नभएसम्म डाले घाँस र बाँसका प्रजातिहरू खुवाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।
